२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

कविता : सर्वहाराको सपना–तुलसी आचार्य

एउटा आसा न थियो
सपना न थियो
फगत सानू मान्छेको सपना
हजारौंको अवसान पछि हामी सबैले देखेको
सर्वहाराको सपना —
जुन आफ्नै माटोमा पूरा नभएपछी
मैले खोजेको थिए एउटा विकल्प:
आङ ढाक्ने एकजोर कपडा
छाक टार्ने एक मुठी चामल
र ज्वरो आउँदा खाने सिटामोल
बस, त्यति नै थियो म बिदेसिनुको अर्थ !
मलाई न रोलेक्स घडी चाहिएको थियो,
न हेलिकप्टर, न तोलाका तोला सुन
न वरिपरि एउटै युनिफर्ममा बडिगार्ड
न महँगो चिल्लो कार !
मैले गरेको बिरोध बस त्यतिका लागि थियो कि
देशमै रोजगार नभएपछी
“ए सरकार मलाई देश छोड्न सहज बनाइदे,
“चाडैं मिलाइदे”
भन्ने थियो मेरो आक्रोश,
अस्पतालमा किमो लाउँदै गर्दा प्राण त्यागेका
मेरा बाउको सपना पूरा गर्नु थियो,
उम्लियो, पोखियो सडकमा
जहाँ तिमिलाई नै सत्तामा पुर्याउन
आमाले कोख रित्त्याउनु परेको थियो
सिउँदो पुछ्नु परेको थियो ।
तिमिले खोइ के ठान्यौ कुन्नी
सिधै गोलि हानेर मलाई मारिदियौ !
लागेको थियो तिम्रा हातहरू पखालिसकेका थिए,
तर त्यसको धङ्धङी अझै रहेछ,
सर्वहाराको खोल ओडेर
वर्बरताको वितण्डा मच्चाउने
तिम्रो शासनलाइ म थुक्छु:
हाम्रा आसा, सपना, भरोसा र
संबेदनालाई बलात्कार गरेर
शक्तिको खोक्रो प्रदर्शन गर्ने
ए पाखन्डी, मेरो आत्माले तिमिलाई
यो धर्ती रहुन्जेल धिकार्ने छ !

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस