काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुधबार ७४ बुँदामा प्रश्न गर्दै कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरे। उनले ओलीमाथि आरोप लगाउँदै आफ्नो मातृभूमि जागरण अभियान चलाउने घोषणा गरे।
रावलले एमालेमा ५ दशकभन्दा बढीको संगठित सदस्यता खोसिएपछि नयाँ बाटो खोज्नु परेको बताए। उनले देश र जनताको हितका लागि एकताबद्ध हुनुपर्ने बताउँदै वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याए।
उनले ३१ बुँदे दस्तावेजमा उल्लेख गरिएका प्रश्नहरू ओलीलाई सोधे, जसमा अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीको भूमिका र ओलीको निर्देशनमा अख्तियारले मुद्दा नचलाएको बारेमा गम्भीर प्रश्न उठाए। “ललिता निवासको जग्गा अवैधरूपमा लिएका पौडेल र रेग्मीले फिर्ता गर्छु भन्दैमा मुद्दा नचलाउने निर्णय तपाईं (केपी शर्मा ओली)कै निर्देशनमा भएको होइन र ?,” रावलले प्रश्न गरे।
रावलले ओलीले न्यायालयदेखि राज्य सत्ताका सबै कुराको दुरुपयोग गरेको आरोप लगाए। उनले ओलीका कार्यहरूले देशको स्वाधीनता, अखण्डता र राजनीतिक स्थिरतामाथि प्रहार गरेको आरोप लगाए।
पत्रकार सम्मेलनमा रावलले आफूले पार्टी छाडेको भनेर प्रचार गरिएको बारेमा आपत्ति जनाए। एमाले महासचिव शंकर पोखरेलले आफूलाई पार्टी छाडेको भनेर भ्रम छरेको भन्दै उनले पोखरेललाई चुनौती दिए, “कि यस्तो बोल्ने कुबुद्धि पनि यान्त्रिक बौद्धिकता (एआई) ले दिएको हो ?”
रावलले आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गर्दै आफ्नो राजनीतिक यात्रालाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गरे।
हेर्नुहोस उनको सम्बोधनको पूर्णपाठ

