२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

६५ लाख धरौटीमा छुटेका रविको यात्रा पुनः प्रहरी हिरासतमै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार प्रहरी हिरासतमा लगिएको छ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि उनलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आइतबार बयानका लागि अदालत पुगेका लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो।

प्रहरी स्रोतका अनुसार, उनलाई सोमबार बिहान ११ बजेबाट थुनछेक बहसका लागि पुनः अदालत पेस गरिनेछ। लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ५ करोडभन्दा बढी रकम अपचलनको मुद्दा दर्ता भएको छ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौं आएका थिए। अभियोग पुष्टि हुने प्रक्रियामा थुनछेक बहस महत्वपूर्ण हुने बताइएको छ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस