काठमाडौं । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्वासीलाई छ कट्ठासम्म निःशुल्क जग्गा वितरण गरिने बताउनुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित नवौँ चन्द्रौटा महोत्सवको उद्घाटन गर्दै उहाँले तीन वर्षभित्र नेपालमा भूमिसम्बन्धी समस्या सधैंका लागि समाधान गरिने उल्लेख गर्नुभयो।
मन्त्री अधिकारीले शक्तिशाली भूमि आयोग गठन गरिएको र अबदेखि भूमिहीनले एक पटक मात्र जग्गा पाउने स्पष्ट पार्नुभयो। उहाँका अनुसार, प्रविधिको प्रयोगले नागरिकता र जग्गासम्बन्धी विवरण व्यवस्थित हुनेछ, जसले गलत तरिकाले जग्गा पाउन खोज्ने परिपाटी अन्त्य हुनेछ।
उहाँले जनप्रतिनिधि र कर्मचारीलाई गलत सिफारिस नगर्न चेतावनी दिँदै, वन क्षेत्रलाई असर नगर्ने गरी जग्गा वितरण गरिने जानकारी दिनुभयो। महोत्सव माघ २० सम्म चल्नेछ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार

