काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भत्काउने वा पार्टी विभाजन गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको बताएका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले काँग्रेस–एमाले नेतृत्वको सरकारको उद्देश्य त्यस्तो नहुने स्पष्ट गरे।
सरकार ढल्छ भन्ने हल्लामा नअल्मलिन आग्रह गर्दै उनले विपक्षी दललाई ‘सरकार ढल्छ, माघे सङ्क्रान्ति पार गर्दैन’ भन्नेजस्ता अड्कलबाजी राजनीतिमा भन्दा अन्यत्र उपयुक्त हुने सुझाव दिए।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको चीन भ्रमणबारे जानकारी गराउँदै संविधान संशोधनका विषय पहिचान गरिने बताएका छन्।
उनका अनुसार, संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौतीको समीक्षा गरी आवश्यक संशोधन र तदनुकूल कानुन निर्माण गर्ने सरकारको प्राथमिकता हुनेछ। यसका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले० ले विज्ञ सम्मिलित अध्ययन कार्यदल गठन गरिसकेको छ।
संविधान संशोधनका विषय पहिचानपछि संसदमा प्रतिनिधित्व गर्ने दल, बाहिरका दल, र सरोकारवालासँग छलफल गरिनेछ। सरकारले बहस र संवादमार्फत निष्कर्ष निकालेर साझा धारणा बनाइ संशोधन प्रस्ताव अघि बढाउने योजना बनाएको छ।

