२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सक्रिय राजनीतिमा फर्किए पूर्व उपराष्ट्रपति पुन, प्रचण्डले सुम्पे प्रमुख जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) लाई पार्टीको आर्थिक तथा उत्पादन विभागको प्रमुख बनाउने निर्णय गरेको छ। सोमबार (आज) बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो।

यसअघि पुनलाई पार्टीको उपाध्यक्षमा मनोनयन गर्ने चर्चा चलेको थियो, जसमा पार्टी अध्यक्ष पुष्प कमल दाहालले पनि समर्थन गरेका थिए। तर, अन्य नेताहरूको विरोधका कारण यो तयारी रोकिएको थियो।

पदाधिकारी बैठकको निर्णय अनुसार पुनले उत्पादन विभागको जिम्मेवारी पाएका छन्। यो निर्णयसँगै पूर्व उपराष्ट्रपति पुन फेरि सक्रिय राजनीतिमा फर्किने निश्चित भएको छ। उनी यस अघिदेखि नै माओवादीको विभिन्न बैठकहरूमा सहभागी हुँदै आएका थिए, पौष अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकमा पनि उनी पदाधिकारीको सरह कुर्सीमा बसेका थिए।

पुन माओवादीका शीर्ष नेता हुन् र उनी दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए। २०७२ सालमा संविधान जारी भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा उनी उपराष्ट्रपति नियुक्त भएका थिए।

यस्तै, नेकपा माओवादी केन्द्रले १२ फागुनदेखि झापाको कचनकवलबाट हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ। पदाधिकारी बैठकले निर्वाचित पालिकाका पदाधिकारीहरूको भेला र केन्द्रीय सदस्यहरूको कार्यविभाजन पनि गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस