रवि लामिछानेविरुद्ध चितवनमा ठगी मुद्दा दायर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। यसअघि कास्की, काठमाडौं, र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा समेत मुद्दा दायर भइसकेको थियो।
चितवन जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लिएको देखिएकाले ठगी र संगठित अपराधको मुद्दा चलाइएको हो। तर, चितवनमा उनले आफैं ऋण नलिएको पुष्टि भएकाले केवल ठगी मुद्दा मात्र दर्ता गरिएको छ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगी मुद्दा दर्ता गरेको छ। मुलुकी अपराध संहिताको दफा २४९ को उपदफा ३ अनुसार यस्तो ठगीमा संलग्न व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।
चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा रवि लामिछानेले आफू सहकारीको रकम ल्याउने कार्यमा संलग्न नरहेको जिकिर गरेका छन्। उनले टेलिभिजनमा सञ्चालकका रूपमा जिबी राई नै जिम्मेवार रहेको बताउँदै, “कम्पनीका चेकहरूमा हस्ताक्षर गर्नेहरूमध्ये म एक भए पनि, मेरो भूमिकामा प्रशारण सामग्रीमा केन्द्रित थिएँ,” भनेका छन्।
यसअघि, एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय विशेष समितिले ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थियो, जसमा गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ सहकारीबाट गएको उल्लेख गरिएको थियो।
चितवनपछि पर्सामा पनि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता हुने प्रक्रिया अगाडि बढेको छ। अदालतमा पेश भएपछि उनको मुद्दामा थुनछेक बहस हुनेछ, जसपछि उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने निर्णय हुनेछ।

