राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ।
साहारा बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ‘संगठित अपराध’ हटाएर केवल ठगी सम्बन्धी मुद्दा दायर गरेको भन्दै लुइँटेललाई तानिएको हो। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले उनीमाथि छानबिन थालिएको बताए।
नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। चितवनमा रहेका लुइँटेललाई तानेर बुटवलका रवि न्यौपानेलाई पठाइएको छ।
अभियोगपत्रअनुसार, साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा ४८ करोडभन्दा बढी रकम लामिछानेको एकल हस्ताक्षरमा खर्च भएको देखिन्छ। यो रकम खर्च गर्न उनले ८१४ वटा चेक काटेका थिए।
उता, रास्वपा सभापति लामिछानेको चितवन जिल्ला अदालतमा बयान चलिरहेको छ। उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अब रविको बयान सुरु गरिने छ ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन्। रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

