काठमाडौं । बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि वन विभाग पछाडि रहेको बस्ती डुबानमा परेको छ। पाइप फुटेपछि बबरमहल र वरपरका सरकारी कार्यालयहरू र नजिकैका बस्तीहरू पनि डुबानमा परेका छन्।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि निस्केको पानी ४ घण्टापछि बल्ल रोकिएको छ। बबरमहलस्थित विशेष अदालतमा चलिरहेको सुनुवाइ र अन्य सरकारी कार्यालयका काम पनि रोकिएका छन्।
नेपाल विद्युत् प्राधिकरणले सडकमा विद्युत् लाइन भूमिगत गर्दै गर्दा असावधानीवश पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको छ। निर्माण कम्पनी के।ई।आई।का सुपरभाइजर अविनाश कुमारले पाइलट ड्रिलिङ पछि रिमिङ गर्दा पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेका छन्।
नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी र नेपाली सेनासहितको उद्धार टोलीले उद्धार कार्य जारी राखेका छन्।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार

