काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मन्त्रालयलाई रासायनिक मलको अभाव नहुने र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन्।
बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा उनले मल आपूर्ति र वितरणलाई छिटो, छरितो र पारदर्शी बनाउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा प्राथमिकता दिने नीति बनाउन आग्रह गरे।
मन्त्रालयले वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको छ। यस वर्ष दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ।
प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने नीति बनाउनु पर्नेमा जोड दिए।
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार

