काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट श्रम स्वीकृति प्रदान गर्ने नयाँ व्यवस्था लागू गरेको छ। बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यस सेवा शुभारम्भ गरे।
मन्त्री भण्डारीले नेपाली श्रमिकहरूको हित र सुविधालाई ध्यानमा राख्दै राज्यले प्रदान गर्ने सेवाहरूलाई सरल र प्रविधिमैत्री बनाउन आवश्यक भएको बताए। यस व्यवस्थामा अबुधाबीस्थित नेपाली राजदूतावासमार्फत श्रम स्वीकृति प्राप्त हुनेछ, जसले श्रमिकहरूलाई नेपाल जानुका झन्झटबाट मुक्ति दिलाउनेछ।
नेपालका राजदूत तेजबहादुर क्षेत्रीले युएईस्थित नेपाली श्रमिकहरूको हकहित संरक्षणमा दूतावास प्रतिबद्ध रहेको बताए। साथै, दूतावासका सेवा प्रवाहलाई अनलाइन प्रणालीमा ल्याएको उल्लेख गर्दै सेवा प्रदानमा चुस्तता आउने विश्वास व्यक्त गरे।
गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिहरूसहित उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो। यस कार्यक्रमको दौरान मन्त्री भण्डारीले ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा नेपालको प्रतिनिधित्व गरेका थिए।

