परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यहाँका नेपाली विद्यार्थीहरूको सुरक्षाबारे ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गर्नुभएको छ।
मन्त्री देउवाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै, विद्यार्थीहरूको सुरक्षाका लागि सुरक्षित वातावरण बनाउन आग्रह गर्नुभयो।
भारतीय मन्त्री सुरजले उक्त घटनालाई गम्भीरतासाथ लिई उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी दिएका छन्। उनले नेपाली विद्यार्थीहरूको सुरक्षाको लागि होस्टलमा प्रबन्ध गरिएको र कलेज प्रशासनले विद्यार्थीसँग माफी माग्दै पुनः पठनपाठनको व्यवस्था मिलाएको बताए।
कूटनीतिक प्रयासले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई बर्खास्त गर्दै आवश्यक कारबाही गरिरहेको छ।

