सरकारले मनसुनजन्य विपतमा परी दस दिनसम्म नभेटिएका बेपत्तालाई मृतकसरह राहत दिने निर्णय गरेको छ। फागुन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकले चालु आर्थिक वर्षका भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको दायित्व पूरा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ। साथै, पुलहरूको मर्मतका लागि विश्व बैंक समूहबाट १५० मिलियन अमेरिकी डलर सहुलियत ऋण लिन वार्ताटोली गठन गर्ने निर्णय भएको छ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा (कञ्चनपुर) नियुक्त भएका छन्। नेपाली सेनामा महासेनानी र सहायकरथी पदमा बढुवा तथा केही पदाधिकारीको कार्यकाल थप्ने निर्णय भएको छ।
बैठकले भौतिक पूर्वाधार, वन तथा वातावरण, र खानेपानीमन्त्रीलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ। साथै, राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई भारत, थाइल्यान्ड, र अमेरिकामा आयोजना हुने कार्यक्रममा जान स्वीकृति प्रदान गरिएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ। साथै, आदिवासी जनजाति आयोग र चीनबीच समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि भएको छ।

