सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान २:५१ बजे गएको भूकम्प देशका धेरै जिल्लामा महसुस भए पनि सात जिल्लामा क्षति पुर्याएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानवीय र भौतिक क्षति भएको छ।
प्रहरीका अनुसार भूकम्पले ६ जना घाइते भएका छन् भने एक पूर्ण र तीन आंशिक गरी चार घर र एउटा गोठमा क्षति पुगेको छ। सिन्धुपाल्चोकको कोदारीमा प्रहरी कार्यालय पनि आंशिक रूपमा क्षतिग्रस्त भएको छ। काठमाडौँमा २ जना र सिन्धुपाल्चोकमा एक कैदीसहित घाइते भएका छन्। सङ्खुवासभामा २ घर भत्किएका छन्।
ती जिल्लाबाट प्राप्त विवरणअनुसार १३ घटना दर्ता भएका छन्। तीन परिवार विस्थापित भएका छन्। प्रहरीले क्षतिको थप विवरण सङ्कलन गरिरहेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार

