जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका र देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, काठमाडौँ, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
उहाँले भनिन, “अहिले त्रिभुवन विमानस्थल क्षेत्र, गोङ्गबु र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको छ।” शुक्रवार राति पनि पहाडी भू-भागमा वर्षा हुने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।
शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। आइतबारको दिनमा मौसम मुख्यतया सफा रहने, जबकि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रहरूमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ।

