मोरङ। पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा मंगलबार दिउँसो एउटै डोरीमा झुन्डिएको अवस्थामा युवक-युवती मृत फेला परेका छन्।
प्रहरीका अनुसार पथरीशनिश्चरे-५ का २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज-२ की २२ वर्षीया जुबामुनी हस्दाबीच विवाहेत्तर सम्बन्ध थियो। दुवै जना विवाहित थिए र आ-आफ्ना सन्तान पनि थिए। जुबामुनीका श्रीमान् मलेसियामा छन् भने अजयका पत्नी र दुई छोरा छन्।
डीएसपी मोहनविक्रम दाहालका अनुसार १८ फागुन राति अजयले जुबामुनीलाई घर लगेका थिए। सोमबार उनीहरू गाउँको बजारमा देखिएका थिए, मंगलबार बिहान घटनास्थल नजिकै गफ गरिरहेको स्थानीयले देखेका थिए। दिउँसो भने पिठारीको रूखमा झुन्डिएको अवस्थामा फेला परे।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा परिवारबाट सम्बन्ध अस्वीकार भएपछि आत्महत्या गरेको हुनसक्ने जनाएको छ। शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल, मंगलबारे पठाइएको छ।

