काठमाडौँ । आज दिउँसो १ बजेर ५ मिनेटमा एयर अरेबियाको जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको बेला ‘मिस एप्रोच ओभरसुट’ भएको घटना भएको छ। उक्त जहाजले काठमाडौँ विमानस्थलमा एप्रोच लिँदै गर्दा नरेफाँटमाथि एक्कासी ओभरसुट गरेको थियो।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार हावाको गति मिल्दैन, जसलाई ‘विन्ड सियर’ भनिन्छ। यसका कारण जहाजले हल्लिने र मिस एप्रोच हुने परिस्थिति बनेको थियो।
त्यसैगरी, आजै नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले सिमरा माथि होल्ड भइ चार फन्को मारेपछि काठमाडौँमा अवतरण गरेको फ्लाइट राडर्डले जानकारी दिएको छ। यसका साथै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केही समय होल्डमा परेको थियो।
यस घटनाका अतिरिक्त, बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज पनि होल्ड भएपछि अवतरण गरिएको थियो। त्यस्तै, कतार एयरवेज, एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज तथा भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर र पोखराबाट आएको यति एयरलाइन्सका विमानहरू पनि कम दृश्यता र प्रतिकूल मौसमका कारण होल्डमा परेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पछिल्लो एक सातादेखि प्रतिकूल मौसमका कारण मुलुकका आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेको छ।

