काठमाडौं । भारत, पञ्जाबको मोहालीको मटौर गाउँमा स्थित एक मोमोज कारखानामा कुकुरको काटिएको टाउको र ६० किलोग्राम गन्हाउने कुखुरा भेटिएपछि हंगामा मच्चिएको छ। स्थानीय जनताले कारखानाको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेपछि प्रशासन सक्रिय भएको हो। भिडियोमा कारखानामा फोहोर र सडेको तरकारी देखिएको छ।
सोमबार, मार्च १७ मा स्वास्थ्य र नगर निगम टोलीहरूले खोजी अभियान चलाएका थिए, जसमा फ्रिजमा कुकुरको टाउको भेट्टाइएको थियो। मोहालीका सहायक खाद्य सुरक्षा आयुक्त डा. अमृत वारिङका अनुसार मोमो र स्प्रिङ रोल बनाउने कारखानामा कुकुरको मासु प्रयोग गरिएको थियो वा थिएन भन्ने अनुसन्धान भइरहेको छ। कुकुरको टाउको परीक्षणको लागि पशु चिकित्सा विभागमा पठाइएको छ।
स्थानीय जनताको गुनासोपछि १६ र १७ मार्चमा मटौर र वरपरका क्षेत्रहरूमा छापा मारेका थिए। कारखानाबाट जमेको मासु र क्रसर मेसिन पनि फेला परेको छ। कारखाना चलाउने व्यक्ति नेपालका भएको बताइएको छ। मोहालीकी सिभिल सर्जन डा. संगीता जैनाले भने, ‘हामीले कारबाही सुरु गरेका छौं र कारखाना मालिक र विक्रेता दुवैको बारेमा उपायुक्त र प्रहरीलाई सिफारिस गरेका छौं।’

