काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ। मंगलबार साँझदेखि लागेको डढेलो बस्तीमा पस्ने जोखिम बढ्दै गएको छ।
बागमती गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार लामाका अनुसार आगो नियन्त्रणका लागि मंगलबार साँझ अबेरसम्म स्थानीयको सहयोगमा प्रयास भए पनि सफल हुन सकेन। आगलागीको जोखिम उच्च भएकाले उनले सूचना जारी गर्दै आगो निभाउन सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
प्युटार क्षेत्रका स्थानीय लालबहादुर भोम्जनका अनुसार बस्ती जोगाउन ‘फायर लाइन’ बनाउने काम भइरहेको छ। गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा आगो फैलने सम्भावना उच्च भएकाले विशेष सतर्कता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए।
जनप्रतिनिधि तथा स्थानीयहरू आगो नियन्त्रण गर्न सक्रिय छन् भने सर्वसाधारणलाई सचेत रहन अपिल गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार

