२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

७ महिना पुरानो त्यो अडिओ जसले मन्त्री पद गयो

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका हुन्।

आर्थिक लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका चौधरीले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। उनले ७ महिना पुरानो अडिओ सार्वजनिक गरी आफूलाई विवादमा ल्याइएको दाबी गरे।

चौधरीले आर्थिक लेनदेनमा संलग्न नरहेको जिकिर गर्दै अडिओ भदौ महिनाको भएको र केही काठ व्यवसायी तथा पार्टीका व्यक्तिसँग छलफल मात्र गरेको स्पष्ट पारे। सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा छलफल गरे पनि कुनै गलत नियत नरहेको उनको भनाइ छ।

सार्वजनिक अडिओमा उनले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गर्ने र मुख्यमन्त्रीलाई पनि केही भाग दिने कुरा भएको सुनिए पनि चौधरीले कार्यविधि अझै पारित नभएको बताए।

आफूले कुनै अनियमितता नगरेको दाबी गर्दै उनले छानबिनका लागि तयार रहेको र दोषी देखिए कारबाही भोग्न तयार रहेको बताएका छन्।

चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य दलहरूको षड्यन्त्रका कारण आफूलाई फसाइएको आरोप लगाए। उनी यसअघि सामाजिक विकासमन्त्रीसमेत भइसकेका थिए।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस