२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

रूखको ठुटोबाट निरन्तर पानी आएको भन्दै स्थानीय चकित, पूजा गर्नेको लाग्यो भिड !

२३ चैत्र , काठमाण्डौँ । कास्कीको रुपा गाउँपालिका ६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।

‘रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ’, स्थानीय विश्क गुरुङले भने । तलको पानी माथितिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको उनको भनाइ छ ।

रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा माटो निकाल्ने क्रममा अचानक डोजरको वकेट अड्किएको बताउँदै अर्को डोजर प्रयोग गर्दा पनि उक्त वस्तु ननिस्किएर वकेटको दाँत भाँचिएको गुरुङले जानकारी दिए । उनका अनुसार दुइटा डोजरको सहायताले पनि जमिनमुनि लुकेको वस्तु निकाल्न नसकेपछि आसपासको माटो निकाल्दै जाँदा रूखको ठुटो भेटिएको थियो । उक्त ठुटोबाट पानीका धारा झरिरहेको दृश्यले सबैलाई अचम्म पारेको गुरुङको भनाइ छ । सो स्थानमा अन्य रूखका ठुटोसमेत रहेकाले भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपद्का कारण यहाँका वनजङ्गल पुरिएको हुनसक्ने उनले अनुमान गरे ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस