२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

२४ चैत्र , काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन भएको छ । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र ‘डज’ भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उत्रिएकामध्ये ६ लाखले औपचारिक सहभागीको रुपमा हस्ताक्षर समेत गरेका छन् । नागरिक अधिकार संगठनहरु, श्रमिक युनियनहरु, अधिवक्ताहरु, भूतपूर्व सैनिकहरु र निर्वाचन कार्यकर्ताहरुसहित एक सय ५० भन्दा बढी समूहहरुले प्रदर्शनको आयोजना गरेको सिएनएनले उल्लेख गरेको छ ।
५० वटै राज्यहरुको एक हजार २ सयभन्दा बढी स्थानमा प्रदर्शन गरिएको थियो । लाखौं प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र अर्बपति मस्कले सरकारी कटौती, अर्थतन्त्र, आप्रवासन र मानव अधिकारमाथि गरेको कदमको आलोचना गरेका थिए । प्रदर्शनकारीहरुले हजारौं संघीय कर्मचारीहरुलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरु बन्द गर्ने, सम्पूर्ण एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गर्ने, आप्रवासीहरुलाई देश निकाला गर्ने, तेस्रो लिंगीहरुको लागि सुरक्षा कटौती गर्ने र स्वास्थ्य कार्यक्रमहरुको लागि अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस