काठमाडौं । पहलगाम आक्रमण भएको १५ दिनपछि भारतले पाकिस्तानमाथी हवाई हमला सुरु गरेको छ । भारत अधीनस्थ कश्मीर (पीओके) र पाकिस्तानी क्षेत्रमा रहेका आतंकवादीहरूका नौ अखडामा लक्षित हवाई आक्रमण गरेको हो । उक्त आक्रमण ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारवाही अन्तर्गत सञ्चालन गरिएको हो।
भारतीय समयअनुसार बुधबार राति १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा भारतीय वायुसेनाले सटीक प्रहार गरेको बताइएको छ। भारतको दाबी अनुसार यी स्थानहरूबाट भारतमा भएका आतंकवादी हमलाहरूको योजना बनाइने र त्यसको कार्यान्वयन हुने गरेको थियो।
भारतीय पत्रिका दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टहरूलाई उद्धृत गर्दै बहावलपुरमा भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ। समाचार एजेन्सी एएनआईका अनुसार लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदका मुख्यालयहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन्।
पाकिस्तानको अन्तर–सेनाका जनसम्पर्क प्रमुख (आईएसपीआर) लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन्। एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ कि प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको प्रत्यक्ष निगरानी गरेका थिए।
भारतीय सेनाले भने पाकिस्तानी सेनाका अखडालाई लक्षित नगरिएको, आतंककारी लुकेको स्थानहरूलाई मात्र निशाना बनाइएको स्पष्ट पारेको छ। स्रोतहरूका अनुसार यो एक संयुक्त सैन्य कारवाही थियो, जसमा भारतीय थलसेना र वायुसेनाले मिलेर सटीक प्रहार गर्ने हतियार प्रयोग गरेका थिए।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय सेनाले पहलगाम आतंकवादी आक्रमणमा संलग्न रहेका लश्कर र जैशका लुक्ने स्थानहरूलाई लक्ष्य बनाएर आक्रमण गरेको हो। तर पाकिस्तानले आफ्ना निहत्था नागरिकमाथी आक्रमण गरेका कारण त्यसको जवाफ दिने बताएको छ ।

