२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले दिए पहिलो प्रतिक्रिया

काठमाडौं । भारतले मंगलबार राति कम्तिमा ५ स्थानलाई लक्षित गर्दै गरेको हवाई हमलालाई पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ नदिइ छाडिन्न ।’ भारतको यो आक्रमणको जवाफ दिन पाकिस्तानले पूर्ण अधिकार राख्ने समेत उनले भनेका छन् ।

भारतको हवाई हमलामा परेर कम्तिमा ३० जना मारिएको प्रारम्भिक विवरण आएका छन् । कयौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भारतले चाहिँ दुई साताअघि जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ । भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएको छ ।

भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय सैन्य बलहरुले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आतंकवादी संरचनाहरुलाई लक्षित गरेर अपरेशन सिन्दुर चलाएका छन्, जहाँबाट भारतविरुद्ध आतंकवादी हमलाको योजना बनाइएको थियो र निर्देशन दिइएको थियो ।’

विज्ञप्तिमा यसलाई पहलगाममा भएको आततायी हमलामा नेपाली नागरिकसहित २५ भारतीयको हत्याको जवाफी कदम भएको भनिएको छ । ‘यस आक्रमणका लागि जिम्मेवार व्यक्तिहरुलाई जवाफदेही बनाइनेछ भन्ने प्रतिबद्धता हामी पूरा गर्दैछौं’, विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बेलायती समाचार संस्था द गार्डियनसँग कुरा गर्दै आफूहरु जवाफी कारबाहीको प्रक्रियामा रहेको भनेका छन् । उनले भनेका छन्, ‘बिहान हुनुभन्दा पहिल्यै पाकिस्तानको प्रतिक्रिया देख्न पाउनु हुनेछ ।’

बिहान ५ बजेतिर जियोन्यूजसँग कुरा गर्दै सञ्चारमन्त्री अतुल्लहा तरारले पाकिस्तानले ५ वटा भारतीय जेटलाई खसालिएको बताएका छन् । पाकिस्तानी अखबार द डाउनका अनुसार, भारतले एउटा आक्रमण पाकिस्तानको सबैभन्दा बढी जनसंख्या भएको पञ्जाब प्रदेशको वहालवलपुर शहरमा गरेको थियो । त्यहाँ रहेको एउटा मस्जिदलाई निशाना बनाइएको थियो । त्यहाँ एक बालकको मृत्यु भएको भनिएको छ । अन्य आक्रमणण पञ्जाब नजिक र पास्तिान प्रशासित कश्मिरको कोटली क्षेत्रमा भएका थिए ।

 

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस