काठमाडौं । भारतीय सेनाको ‘अपरेशन सिन्दूर’ मा जैश–ए–मोहम्मद (जेईएम)का प्रमुख मसूद अजहरका परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको जेईएमले पुष्टि गरेको छ।
संगठनले बुधबार विज्ञप्ति जारी गर्दै मसूद अजहरकी दिदी, भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र उनका पाँच छोराछोरी आक्रमणमा मारिएको जनाएको हो। साथै, अजहरका तीन नजिकका सहयोगी र तीमध्ये एकको आमा पनि मारिएको उल्लेख छ।
आक्रमण पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको जेईएमले जनाएको छ।
भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीका अनुसार अपरेशन अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नागरिकलाई न्याय दिन राति १ः०५ देखि १ः३० बजेसम्म चलाइएको थियो। यो अपरेशनमा नौ वटा आतंकवादी शिविर ध्वस्त पारिएको भारतीय पक्षको दाबी छ।
पाकिस्तानले भने आक्रमणमा २६ सर्वसाधारणको मृत्यु र ४६ जना घाइते भएको जनाएको छ। भारतले पनि सीमापार गोलाबारीमा आफ्ना १० नागरिकको मृत्यु र ३२ घाइते भएको जनाएको छ।

