२०८२ भाद्र ३० गते सोमवार | 2025 September 15th Monday

बालेनका विश्वासपात्र गृहमन्त्री बन्दा सुदन पक्ष किन असन्तुष्ट? प्रधानमन्त्रीको राजीनामा माग्न थाले

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेअनुसार अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्रीमा नियुक्त भई सोमबार पदभार ग्रहण गरेका छन् । तर उनी मन्त्री भएसँगै विरोध चर्किएको छ ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको जेनजी समूहले आइतबार मध्यराति नै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको थियो । आन्दोलनकारीहरूले प्रधानमन्त्री कार्कीको समेत राजीनामा माग गरे ।

गृहमन्त्री अर्यालविरुद्ध चर्को असन्तुष्टि देखिएको छ । जेनजी आन्दोलनका क्रममा वार्तामा सहभागी बनेका व्यक्तिले नै गृहजस्तो शक्तिशाली मन्त्रालय सम्हाल्नु आन्दोलन हाइज्याक गर्ने प्रयास भएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

सुदन गुरुङले आक्रोश व्यक्त गर्दै भने, ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ, हामी त लास व्यवस्थापनमै व्यस्त थियौं।’ मृतकका परिवारका सदस्यसमेत सहभागी विरोधमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘पीडित परिवारलाई न्याय दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए ।

हिन्दूवादी अभियन्ताहरू पनि अर्यालविरुद्ध उत्रिएका छन् । उनीहरूले २०६३ सालमा अर्यालले गोवध सम्बन्धी दायर गरेको मुद्दाको प्रसंग उठाउँदै मन्त्री पदका लागि उनको नाम अस्वीकार्य भएको बताएका छन् ।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेको दुई दिनमै राजीनामाको माग उठ्नु दुर्लभ घटना बनेको छ । आन्दोलनकारीहरूले भने, ‘सबैभन्दा शक्तिशाली जनता हुन्, जसरी राखेका छौं, त्यसरी नै कुर्सीबाट थुतेर निकाल्न सक्छौं।’

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस