
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो परिमाणको नगद र सुन लुटिएको तथ्य सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै सो घटनाबारे खुलासा गरेका हुन्। उनका अनुसार, संसद् भवनभित्र रहेको सो शाखाबाट करिब ३७३८ करोड बराबरको नगद र सुन चोरी भएको अनुमान गरिएको छ।
गभर्नर पौडेलले भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ।”
उनका अनुसार, जेनजी आन्दोलनका क्रममा बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति लुटपाट भएको छ। हाल बैंकको सिसिटिभी फुटेज हेरेर घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।
पौडेलले आन्दोलनका बेला पनि पेमेन्ट सिस्टम निरन्तर चलिरहोस् भन्नेमा राष्ट्र बैंकको ध्यान केन्द्रित भएको बताए। उनका अनुसार, त्यसबेला पेमेन्ट सिस्टमलाई बचाइ राख्न समग्र बैंकिङ क्षेत्र तैनाथ गरिएको थियो।
आन्दोलनकै क्रममा ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको र ६९ वटा एटिएममा असर परेको गभर्नरले जानकारी दिए। यद्यपि, समग्र बैंकिङ प्रणाली भने सञ्चालनमै रहेको उनले स्पष्ट पारे।