
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिमा बन्देज लगाउन माग गरेको छ ।
रास्वापाका प्रवक्ता मनीष झाले बुधबार साँझ विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन प्रधानमन्त्री र दुई मन्त्रीलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेका हुन् ।
मंगलबार र बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकपछि जारी विज्ञप्तिमा तीनै जनालाई तत्काल राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने।’
रास्वपाले २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने पनि निर्णय गरेको छ।
जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि रास्वपा बैठकले गरेको छ।