२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

शीर्ष नेताहरुलाई पक्राउ गर्ने सरकारी तयारी, गृहमन्त्रीले के भने ?

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पुराना दलका प्रमुख नेताहरूलाई पासपोर्ट रोक्कादेखि पक्राउसम्मको कारबाही हुन सक्ने संकेत गरेका छन्। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने बताए।

पत्रकारहरूले आन्दोलनका दोषीहरूलाई सरकार कसरी कारबाही गर्ने भन्ने प्रश्न गर्दा उनले अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको प्रष्ट पारे। उनका अनुसार, सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध दृढ कदम चाल्नेछ, र यसमा कुनै समझौता नहुनेछ।

गृहमन्त्री अर्यालले सरकारद्वारा गठित आयोगले दिने सुझावका आधारमा कारबाही अघि बढाइने स्पष्ट पारे। आयोगलाई न्यायिक आयोगको हैसियत दिइएको भन्दै उनले यसले निस्पक्ष रूपमा तथ्य पत्ता लगाएर सरकारलाई सिफारिस गर्ने बताए।

नेताहरूको पासपोर्ट रोक्का हुने प्रश्नमा उनले अनुसन्धानको आवश्यकता अनुसार रोक्का मात्र होइन, पक्राउ र बयानका प्रक्रिया पनि अघि बढ्न सक्ने उल्लेख गरे।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस