२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

प्रचण्डको घोषणाले माओवादीमा हलचल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने घोषणा गर्नुभएको छ। साथै, सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने स्पष्ट धारणा पनि उहाँले राख्नुभयो।

प्रचण्डले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने औँल्याउनुभयो। उहाँले भन्नुभयो, “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ।”

उनको भनाइमा संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिनुभएको छ।

बैठक सम्पन्नसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने भएको छ। साथै, निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल गर्ने प्रचण्डले स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस