२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

अन्तत: विपिन जोशीको भिडियो सार्वजनिक, के भने ?

काठमाडौं – इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ।

परिवारका अनुसार उक्त भिडियो इजरायली सेनाले ‘युद्धका दौरान प्राप्त सामग्री’ (IDF spoils) मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको हो। सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको भिडियोमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देख्न सकिन्छ।

विपिन जोशीको परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यो भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो र हाम्रो समय रोकेर राख्यो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं। यो हाम्रो लागि ठूलो आस्था र आशाको आधार हो।’

सन् २०२३ अक्टोबरमा इजरायलमा कार्यरत विपिन जोशीलाई एक अज्ञात किब्बुत्जबाट अपहरण गरिएको थियो। सो घटनामा उनका १० जना साथीहरूको ज्यान गएको थियो, जसले नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको थियो।

परिवारका अनुसार दुई वर्षपछि प्राप्त यो भिडियोले नयाँ विश्वास र आशा जगाएको छ। ‘दुई वर्षसम्म हामीले कल्पनासमेत गर्न सकेनौं कि विपिन गाजाको सुरुङभित्र अपहृत अवस्थामा छन्। तर अब त्यो वास्तविकता हो,’ परिवारले भनेको छ।

भिडियो केही महिनासम्म इजरायली सेनाको गोप्य निगरानीमा राखिएको र हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको परिवारले जनाएको छ। परिवारले राजनीतिक नेतृत्व र सम्बन्धित निकायहरूसँग अपील गर्दै भनेको छ, ‘यी निर्णायक र ऐतिहासिक दिनहरूमा कुनै पनि राजनीतिक पक्षले हार नमानोस्। बाँकी रहेका सबै ४८ जना अपहृतहरूलाई घर फर्काइयोस्। हामीले आशा गुमाएका छैनौं।’

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस