२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

पर्वतका बाँदरले अष्ट्रेलियालीसहित दुई पर्यटकका पासपोर्ट चोरेपछि….

काठमाडौँ। अष्ट्रेलियाबाट नेपाल घुम्न आएका दुई पर्यटकको पासपोर्ट बाँदरले चोरी गरेको घटना पर्वतमा भएको छ।

पर्वतको बन्जी जम्प नजिक गाडीको छतमा राखिएको झोलामा रहेको पासपोर्ट बाँदरले लिएर भिरतिर भागेको थियो। अष्ट्रेलियाली नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पासपोर्ट पनि सोही झोलामा भएको थियो।

पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवले बताए अनुसार, शनिबार र आइतबार खोजी गर्दा पनि पासपोर्ट फेला परेको छैन। उनीहरूले प्रहरीमा निवेदन समेत दर्ता गराएका छन्।

‘हिजो उहाँहरू मुक्तिनाथ जाने क्रममा गाडीमा झोला छतमा राखिएको रहेछ। फर्किंदा झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको थियो,’ यादवले भने।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जङ्गलतिर खोजी जारी राखेको छ। डीएसपी यादवका अनुसार, “भीर र जंगल धेरै गहिरो र प्रवेश कठिन छ, त्यसैले खोजीमा चुनौती छ। यदि पासपोर्ट फेला परेन भने नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्ने हुन्छ।”

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस