२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

ओलीको ठूलो दाबी : म फेरि प्रधानमन्त्री बन्छु, कार्कीबारे प्रचण्डलाई सिधा चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था यस्तै रहिरहे आफू पुनः प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँगको छलफलमा ओलीले भने, ‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ।’

उनका अनुसार, जनताले अहिले देखिएको अराजकता सहन सक्दैनन् र अन्ततः आफूलाई नै पुनः नेतृत्वमा फर्काउनुपर्ने परिस्थिति आउनेछ। ओलीले हलमा रहेका सम्पादकहरूलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरू अहिले त अलि मेलो पाउनुभएको छैन, तर पछि सम्पादकीय लेखेर भन्नुहुन्छ-ल्याऔं केपी ओलीलाई!’

यसैबीच, ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कडा चुनौती दिएका छन्। प्रचण्डले हालै ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको दाबी गरेपछि ओलीले जवाफ दिँदै भने, ‘प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ। मैले कतै कार्कीलाई सिफारिस गरेको छैन।’

तर ओलीले असहज राजनीतिक अवस्थालाई समाधान गर्न राष्ट्रपतिलाई संविधानभित्र रहेर आवश्यक कदम चाल्न सिफारिस गरेको भने स्वीकार गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस