२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

सरकारले सुन्यो आन्दोलनरत नर्सका माग, प्रधानमन्त्री कार्कीको बोल्ड निर्णय

काठमाडौं । सरकारले आन्दोलनरत नर्सहरूको माग सम्बोधनका लागि सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। साथै तिहार बिदामा समेत काम गर्ने नर्सहरूको पारिश्रमिकको विषयमा पनि समाधान खोजिने भएको छ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल नर्सिङ संघको संयोजकत्वमा प्रत्येक प्रदेशमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकारी र आन्दोलनरत नर्सका प्रतिनिधिसहित कार्यदल गठन गरिनेछ। कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहित प्रतिवेदन पेश गर्नेछ।

प्रधानमन्त्री कार्कीले नर्सिङ स्वास्थ्यकर्मीका सेवा–सुविधा र सुधारका विषयमा सात दिनभित्र कार्यान्वयन योजना पेस गर्न निर्देशन दिएकी छन्। समितिले भर्चुअल माध्यमबाट तिहार र छठ बिदामै अध्ययन कार्य अघि बढाउने र आगामी कात्तिक ९ गते दोस्रो बैठक बस्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस