२०८२ मङ्सिर ९ गते सोमवार | 2025 November 24th Monday

रिहापछि दुर्गा प्रसाईँले भने– ओली सरकारले हाम्रो आवाज थुन्यो, कम्तीमा यो सरकारले सुन्यो !

काठमाडौँ। सर्वोच्च अदालतको आदेशमा आइतबार हिरासतमुक्त भएका अभियन्ता दुर्गा प्रसाईँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफ्ना आवाज थुन्ने प्रयास गरेपनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको बताएका छन् ।

तर, उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आज तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए । आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिए। उनले भने, ’सर्वप्रथम म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु। पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो।’

उनले अगाडि भने, ’हामीले यो आन्दोलनलाई स्थगित गरेको होइन, केवल आन्दोलनको मोडालिटी केही समयका लागि परिवर्तन गरेका हौँ । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीज्यूले विशेष अनुरोध गर्दै दुर्गाजी, एक पटक बसौँ, तपाईँले उठाएका मागहरू जनजीविका र सर्वहारा वर्गसँग सम्बन्धित छन् भनेपछि मैले उहाँहरूको वचन राखेको हुँ।’ प्रसाईँ समूहसँग सरकारले हिजो वार्ता गरेको थियो । वार्तापछि प्रसाईँको मागबारे छलफल गर्दै जाने सहमति भएसँगै उनको अभियानले आजदेखि तय भएको बन्दसहितको कार्यक्रम रोकेको थियो । उनका अनुसार सरकार उनका २७ बुँदे मागबारे छलफल गर्न विज्ञसहितको टोली बनाउन तयार भएको छ।

उनले आफू हिंसाको पक्षमा नरहेको र देशमा थप अशान्ति नहोस् भन्ने चाहेको समेत बताए । आन्दोलनको घोषणा गरेपछि उनी पाँच दिनअघि निवासबाटै पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस