२०८२ पुष २ गते बुधवार | 2025 December 17th Wednesday

एमाले ११ औं महाविधेशनको बन्द सत्र आजबाट, दुवै पक्ष टिम बनाउने कसरतमा

काठमाण्डौँ ।  नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत् आइतबारबाट बन्द सत्र सुरू हुँदैछ। बन्द सत्र बिहान साढे सात बजेबाट सुरू हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बन्द सत्रअन्तर्गत् सुरूमा अध्यक्ष मण्डल तयार हुनेछ । उक्त अध्यक्ष मण्डले बन्द सत्र सञ्चालन गर्नेछ। अध्यक्ष मण्डल बनेलगत्तै मौजुदा केन्द्रीय कमिटी भंग हुनेछ। र, निर्वाचन प्रक्रिया आरम्भ हुनेछ ।

एमालेको यो नेतृत्व चयनको महाधिवेशन भएकाले यहाँ राजनीतिक, सांगठनिक प्रस्तावहरू पेश हुने छैन । गत शुक्रबार बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेकाले त्यससँग सम्बन्धित विषयहरू पनि पेश हुने छैनन् । एमालेको आगामी केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २५१ सदस्यीय हुनेछ । बन्द सत्र सुरू भएसँगै निर्वाचन प्रक्रिया सुरू हुने भएकाले दुवै पक्ष टिम बनाउन जुटेका छन् ।

आगामी नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओलीले नै निरन्तरता दिन चाहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिँदैछन् । उद्घाटन सत्र सकिएलगत्तै दुवै पक्ष टिम बनाउने कसरतमा जुटेका थिए । अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताका अनुसार शनिबार राति गुण्डुमा अहिले संस्थापन पक्षका नेताहरू छलफल गरेका थिए । ओली पक्षका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी संख्या नबढ्ने भएपछि उक्त समूहमा पुरानै पदाधिकारी त्यही पदमा दोहोरिने सम्भावना बढेको छ ।

स्रोतका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल नै दोहोरिने सम्भावना बढेको छ । उपाध्यक्ष संख्या थपिँदा पृथ्वीसुब्बा गुरूङलाई सेट गर्ने सम्भावना थियो । ती नेताले बताएअनुसार महासचिव शंकर पोखरेल नै दोहोरिने सम्भावना बढेको छ । तर उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी छाडेका छैनन् । पृथ्वीसुब्बा गुरूङले पनि निकट नेताहरूसँग कुनै हालतमा महासचिव नछाड्ने बताइरहेका छन् । तथापि तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, विष्णु रिमाललाई नै दोहो¥याउने सम्भावना छ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस