काठमाडौँ । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्र्तगत आज आगामी नेतृत्व चयनको लागि मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । आगामी पाँच वर्षे कार्यकालको पार्टी नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन्। पोखरेलले ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष बन्न लागेका ओलीलाई ईश्वरले चुनौती दिएका छन्।
ओली पार्टीको नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। ओलीको प्यानलबाट पाँचजना उपाध्यक्षको लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ चुनावी प्रतिस्पर्धामा छन्। ओलीको प्यानलबाट महासचिवमा वर्तमान महासचिव शंकर पोखरेल नै दोहोरिएका छन्। ओलीको प्यानलबाट तीन उपमहासचिवको लागि रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्।
नौजना सचिवको लागि पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई चुनावी मैदानमा उत्रिएका छन्। पार्टी अध्यक्ष ओलीलाई पराजित गरेर पार्टी नेतृत्व आफ्नो हातमा लिनेगरी चुनावी मैदानमा उत्रिनुभएका अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पनि प्यानलसहित मैदानमा उत्रिएका छन्।

