२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्र्तगत आज आगामी नेतृत्व चयनको लागि मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । आगामी पाँच वर्षे कार्यकालको पार्टी नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन्। पोखरेलले ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष बन्न लागेका ओलीलाई ईश्वरले चुनौती दिएका छन्।

ओली पार्टीको नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। ओलीको प्यानलबाट पाँचजना उपाध्यक्षको लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ चुनावी प्रतिस्पर्धामा छन्। ओलीको प्यानलबाट महासचिवमा वर्तमान महासचिव शंकर पोखरेल नै दोहोरिएका छन्। ओलीको प्यानलबाट तीन उपमहासचिवको लागि रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्।

नौजना सचिवको लागि पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई चुनावी मैदानमा उत्रिएका छन्। पार्टी अध्यक्ष ओलीलाई पराजित गरेर पार्टी नेतृत्व आफ्नो हातमा लिनेगरी चुनावी मैदानमा उत्रिनुभएका अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पनि प्यानलसहित मैदानमा उत्रिएका छन्।

 

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस