२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र : पुस १३ र १४ मा समानुपातिक बन्दसूची बुझाउनुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले आफ्नो आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएसँगै राजनीतिक सरगर्मी बढेको हो ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार, आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समयसीमा तोकिएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि ९३ वटा राजनीतिक दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् ।

यस पटकको निर्वाचनमा राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको समावेशी समूहको प्रतिशत निर्धारण गरिएको छ । आयोगले संशोधित जनसङ्ख्याका आधारमा खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नयाँ प्रतिशत तोकेको हो। उम्मेदवार छनोटमा दलहरूलाई सहज बनाउन आयोगले आवश्यक तालिम समेत प्रदान गरिसकेको छ ।

निर्वाचनको वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद पनि सुरु भएको छ। मङ्गलवार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए। यस्तै, आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरी प्रक्रिया अघि बढाएको छ ।

 

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस