२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

पाँच महिना पनि टिकेन रेशम-रञ्जिताको विछोड, यी सर्तमा फेरि एकता

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच शनिबार पुनः एकता हुने भएको छ। गत भदौमा विभाजन भएको पार्टी पाँच महिनापछि फेरि एक हुन लागेको हो।

आन्तरिक विवादपछि भदौ २९ गते चौधरी पार्टीबाट अलग भएका थिए र कात्तिक २ गते नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए। अहिले आएर रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टी सोही दलसँग एकतामा जाने तयारीमा पुगेको हो।

नागरिक उन्मुक्ति पार्टी नेपालका उपाध्यक्ष अब्दुल खानका अनुसार एकीकृत पार्टीको नाम, झण्डा र चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टी नेपालकै रहनेछ। रञ्जिता श्रेष्ठले पनि एकता हुने कुरा पुष्टि गर्दै पार्टीभित्रको विवाद मिलाइएको बताएकी छन्।

नागरिक उन्मुक्ति पार्टी आन्तरिक कलहका कारण विभाजन, गुटबन्दी र सरकार समर्थन फिर्तासम्म पुगेको थियो। अहिले पुनः एकताले पार्टीलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस