२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

काठमाडौंका होटलमा ‘युवती सप्लाई’ पोल खुल्यो, मुख्य बिचौलिया समातिए

काठमाडौँ । काठमाडौंका विभिन्न होटलमा ग्राहकको मागअनुसार युवती सप्लाई गर्ने संगठित धन्दा फस्टाएको खुलेको छ। प्रहरीले यसमा संलग्न एक व्यक्तिलाई पक्राउ गरी तीन सातादेखि गोप्य अनुसन्धान गरिरहेको छ।

दोलखाको मेलुङ गाउँपालिका–१ घर भई बुढानीलकण्ठ–६ कपन बस्दै आएका ३९ वर्षीय कुलबहादुर कार्की (आकाश) लाई २० मंसिरमा सरस्वतीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार कार्कीले ठमेल, गौशाला, गोंगबु र एयरपोर्ट आसपासका होटलमा युवती सप्लाई गर्दै आएको देखिएको छ। उनको मोबाइलबाट करिब ५० युवतीका तस्बिर फेला परेको र होटल स्टाफ तथा ट्याक्सी चालकमार्फत ग्राहक खोज्ने गरेको अनुसन्धानमा खुलेको छ।

यस प्रकरणमा अहिलेसम्म दुई युवतीले उजुरी दिएका छन्। अन्य समूह पनि सक्रिय रहेको आशंकामा अनुसन्धान विस्तार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस