२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने कांग्रेस कार्यसम्पादन समिति बहुमतको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन तालिका बहुमतले पारित गरेको छ । पुस २६–२८ गतेसम्मको महाधिवेशन तालिका परिवर्तन गरी वैशाख २८–३१ मा गर्ने पारित भएको हो । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो ।

महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित नेता अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सु र उमा रेग्मीले फरक मत राखेका हुन् । उनीहरूले बैठकमा नियमित तालिका ल्याए पनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् ।

यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेकाले त्यो कार्यतालिका परिमार्जनसहित बहुमतले पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए । गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको मागको औचित्य स्वतः समाप्त भएको निर्णय गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकको सार्वजनिक निर्णयको पहिलो बुँदामै उक्त कुरा उल्लेख छ।

 

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस