२०८२ पुष १९ गते शनिवार | 2026 January 3rd Saturday

गरिबी, किसानको पीडा र भ्रष्ट व्यवस्थामाथि भगबती चौधरीको सशक्त प्रहार

सुनसरी । नेकपा (एमाले) की नेत्री, निबर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले गरिबी, किसानको पीडा, दलाली प्रवृत्ति र राज्य व्यवस्थाप्रति व्यङ्ग्य गर्दै भावनात्मक तथा यथार्थपरक कविता सार्वजनिक गर्नुभएको छ।

कवितामा जाडो मौसममा कुहिरोले ढाकिएको गाउँ, खेतमा घाम नपाएको अवस्था र नाङ्गो खुट्टा, कक्रिएको हात बोकेका किसानको दैनिकीलाई मार्मिक रूपमा चित्रण गरिएको छ। मेहनत गर्ने किसानको पसिना बजारमा मूल्य नपाउने तर बिचौलियाले फाइदा उठाइरहेको यथार्थमाथि उहाँले तीव्र प्रहार गर्नुभएको छ।

पूर्व मन्त्री चौधरीले चुनावी समयमा मात्रै तातिने राजनीतिक बहस र सत्ता केन्द्रित दलहरूको व्यवहारप्रति पनि प्रश्न उठाउनुभएको छ। “चुनाव आउँछन्, सत्ता बदलिन्छ तर गरिबको चुलो बल्न अझै गाह्रो छ” भन्ने भाव कवितामा प्रस्ट रूपमा व्यक्त गरिएको छ।

उहाँले जाडो मौसम जस्तो कठिन समय त एक दिन बितेर जाने भए पनि गरिबी भने किन सधैँ रहिरहन्छ भन्ने गम्भीर प्रश्नसमेत उठाउनुभएको छ। भ्रष्ट प्रणालीले जनताको भरोसा डामिएको यथार्थलाई कविताले उजागर गरेको छ।

कविताको अन्त्यतिर भगबती चौधरीले निराशामा सीमित नहुन आह्वान गर्दै गरिबी हटाउन सामूहिक अभियान आवश्यक रहेको उल्लेख गर्नुभएको छ। नेपाली–नेपालीबिच हातेमालो गर्दै आफ्नै गाउँ ठाउँबाट विकासको सुरुवात गरी सुखी र समृद्ध नेपाल निर्माण गर्नुपर्ने सन्देश कवितामार्फत दिनुभएको छ।

राजनीतिक नेता मात्र नभई संवेदनशील स्रष्टाको रूपमा पनि चिनिनु भएकी भगबती चौधरीको यो कविता सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ भने पाठक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

हेर्नुहोस कविता जस्ताको तस्तै
कुहिरो ओढेर गाउँ निदाउँछन्,
छैन घाम खेतमा किसानको।
नाङ्गो छ खुट्टा किसानको
कक्रिएको हात चिसो गाउँमा ।
आगो ताप्दै किसान सोच्छन्,
मूल्य पाक्दैन किन पसलमा ?
मेहनत गर्ने किसानको पसिना,
फाइदा उठाउने गल्लाको दलाल।
सित लहरको पिडा छ गरिबमा,
चुनावी बहस तातो हावा सरकारको।
चुनाव आउँछन् प्राप्ति दलको सत्ता,
गरिब मजबुरको बल्नै छ चुलो गाह्रो।
मौसम छ जाडो काम्छ शरीर थरर,
भ्रष्ट सिस्टमले डामेको छ भरोसा,
रुक्दैन जाडो जान्छ त एक दिन,
गरिबी किन रहिरहन्छ सदा सर्वदा..?
जुटौँ अभियानमा गरिबी हटाऔँ,
हात बढाऊँ बनाऊ नेपालीको हात,
गरौँ विकास सक्ने जति आफ्नै गाउँ ठाउँ,
मिली बनाऊ सुखी र समृद्धि देश नेपाल ।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस