२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

वारेसको राज खुल्यो : गगन र रविले किन दर्ता गराए उम्मेदवारी?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। टिकट वितरणको व्यस्तताका कारण थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो। कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहमार्फत थापाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको छ।

यसै क्षेत्रबाट निवर्तमान प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनिस यादव, नेकपा एमालेबाट अभिनिस यादव, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादवलगायतले पनि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन्। सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने समय अभावका कारण उपस्थित हुन नसकेपछि वारेसबाट दर्ता गराएका हुन्। रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालका अनुसार लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएका थिए र उनले नै उम्मेदवारी दर्ता गराएका थिए।

लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका हुन्।

प्रकाशित मिति : २०८२ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस