२०८२ माघ १० गते शुक्रवार | 2026 January 23rd Friday

बालेनलाई प्रश्न : ८ करोडको डिफेन्डर कसले दियो?

काठमाडौं । पत्रकार ईश्वर अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)को चुनावी शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत बालेनले करिब पौने ८ करोड मूल्य पर्ने ल्याण्ड रोभर डिफेन्डर चढेर घरदैलो गरेको भिडियो सार्वजनिक भएपछि यसको स्रोतबारे प्रश्न गरेका हुन्।

अर्यालका अनुसार हालै नेपाल भित्रिएको उक्त गाडी देशका गिनेचुने धनाड्य व्यक्तिहरूसँग मात्र देखिन्छ। उनले बालेन आफैंले काठमाडौँ महानगरपालिकाको मेयर रहँदा यति ठूलो सम्पत्ति कमाउन नसकेको अनुमान गर्दै गाडी उनकै हो कि, कसैले प्रयोगका लागि दिएको हो वा दानस्वरूप उपलब्ध गराइएको हो भन्ने प्रश्न उठाएका छन्।

उनले कोशी प्रदेशको १७ प्रतिशतभन्दा बढी जनसंख्या गरिबीमा रहेको सरकारी तथ्यांक स्मरण गराउँदै, त्यही प्रदेशमा ८ करोडको गाडीमा चुनावी प्रचार हुनुको अर्थ के हो भनेर प्रश्न गरेका छन्। साथै नेपालमा खाद्य असुरक्षामा परेका मानिसको संख्या बढिरहेको सन्दर्भ जोड्दै यस्तो तामझामले कस्तो सन्देश दिन्छ भन्ने जिज्ञासा व्यक्त गरेका छन्।

अर्यालले पूर्वप्रधानमन्त्रीहरू ओली, प्रचण्ड र देउवाले समेत यस्तो गाडी प्रयोग नगरेको उल्लेख गर्दै नयाँ भनिएका नेतृत्व पनि पुरानै बाटोमा हिँड्न थालेको हो कि भन्ने आशंका गरेका छन्। अन्त्यमा उनले नेपालको भविष्यप्रति निराशा व्यक्त गर्दै बालेन वा समर्थकबाट स्पष्ट जवाफको अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस