२०८२ माघ १० गते शुक्रवार | 2026 January 23rd Friday

पश्चिमी वायुको प्रभाव : भोलिदेखि यी ठाउँमा वर्षा, हिमपात र असिना पर्ने

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसममा ठूलो परिवर्तन हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मुख्य रूपमा पश्चिम नेपालमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जानकारी दिएको छ।

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते (शुक्रबार) दिउँसोदेखि पश्चिम नेपालमा बादल लाग्न सुरु हुने बताउनुभयो। त्यसपछि सुदूरपश्चिमको केही स्थानमा हल्का वर्षा सुरु हुने सम्भावना रहेको छ। साथै शुक्रबार राति उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिमपात हुनसक्ने जनाइएको छ।

पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा असिनासमेत पर्ने अनुमान गरिएको छ।

शनिबार केही सुधार भए पनि मौसम बदलीको असर देशभरै देखिने र चिसो बढ्ने विभागको भनाइ छ। मौसम परिवर्तनले जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले विभागले दैनिक अद्यावधिक मौसम सूचनाको जानकारी लिन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस