काठमाडौं । निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ। उजुरी एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारसँग सम्बन्धित छन्।
एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर मण्डलविरुद्ध आदिवासी भएको व्यक्तिलाई मधेशी क्लस्टरमा राखिएको भन्दै उजुरी परेको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका जीवन लामालाई अपांगता समूहमा राखिएको भए पनि उनी अपांगता नभएको दाबी उजुरीमा गरिएको छ।
राप्रपाका समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध भने उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषय अख्तियारमा विचाराधीन रहेको भन्दै उजुरी परेको छ।
आयोगले प्राप्त उजुरीमाथि अध्ययन सुरु गरेको जनाएको छ। दलहरूले पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए। निर्वाचन कार्यतालिकाअनुसार माघ २० गते समानुपातिक उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ।

