२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कुलमानलाई ठूलो झट्का : उम्मेदवार बनाएका व्यक्ति नै कांग्रेस प्रवेश गरे

काठमाडौं । डोल्पाबाट उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गराएका विष्ट शनिबार कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस सहमहामन्त्री तथा कांग्रेसका उम्मेदवार कर्ण बहादुर बुढाले उनलाई पार्टीमा स्वागत गरेका छन्। यद्यपि, विष्टको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

माघ ९ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहे पनि उनले उम्मेदवारी फिर्ता नलिई कांग्रेस उम्मेदवार बुढालाई सहयोग गर्ने बताएका छन्। यसअघि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरिसकेकी छन्।

विष्ट यसअघि पनि कांग्रेसमै थिए। २०७९ को स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि माओवादी प्रवेश गरेका उनी त्रिपुरासुन्दरी मेयर पदमा पराजित भएका थिए।

प्रकाशित मिति : २०८२ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस