काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता र काठमाडौंका पूर्वमेयर बालेन शाहसँग सुदूरपश्चिम भ्रमणमा रहेका पत्रकार दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अछाममा अचानक अचेत भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो। हाल उनी टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्।
अस्पतालका अनुसार सिटौलालाई मस्तिष्क घात (ब्रेन ह्यामरेज) भएको पुष्टि भएको छ। चिकित्सकहरूले भनेका छन् कि उनको अवस्था स्थिर भए पनि खतरामुक्त भने भन्न सकिन्न। शनिबार साँझसम्म थप स्वास्थ्य अपडेट आउन सक्ने चिकित्सकहरूले बताएका छन्।
यस विषयमा अप्रमाणित समाचार र टिप्पणी नगर्न परिवार र सहकर्मीहरूले आग्रह गरेका छन्।
४३ वर्षीय सिटौला बालेन शाहको टोलीसँग केही दिनदेखि सुदूरपश्चिम र कर्णाली क्षेत्र भ्रमणमा थिए। शुक्रबार बिहान अछामको मंगलसेन जाने क्रममा चिया खान गाडीबाट ओर्लिँदै गर्दा उनी अचानक अचेत भएर ढलेका थिए। प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि नेपाली सेनाको हवाई उद्धार टोलीले उनलाई काठमाडौँ ल्याएको थियो।
बालेन शाहले आफ्नो भ्रमण छोट्याएर अस्पताल पुगेर सिटौलाको स्वास्थ्य अवस्था बुझेका छन्। लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सिटौला, बालेन शाहको अभियानमा निकट रहेर काम गर्दै आएका थिए। सामाजिक सञ्जालमा शुभेच्छुकहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

