२०८२ माघ २० गते सोमवार | 2026 February 2nd Monday

रवि लामिछानेलाई फेरि अर्को संकट, राज्यविरुद्धको मुद्दा सर्वोच्चमा चढ्यो

Rabi Lamichhane

काठमाडौं । रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई कहिलै मुद्दाले नछोड्ने भएको छ । एक पटक सरकारले सल्टाएको राज्यविरुद्धको मुद्दा (दोहोरो राहदानीसम्बन्धी मुद्दा) फिर्ता लिने महान्यायाधिक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज पेशी चढेको छ ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटमा आज सुनुवाइ हुन लागेको हो । लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए । न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिए पनि १२ औँ नम्बरमा परेकाले आज सुनुवाइ हुने सम्भावना कम रहेको छ । यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने आदेश दिएको थियो ।

अब भने यो प्रक्रियामा आउने भएको छ । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको थियो । उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइका लागि पेशी चढेको हो । लामिछानेले अदालतको फैसलापछि नेपाली नागरिकता पुनः प्राप्ति गरे पनि दोहोरो राहदानी बोकेको मुद्दा बाँकी थियो । सो मुद्दा नचल्ने निर्णय भएपछि त्यसविरुद्ध रिट परेको थियो ।

 

प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस