२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

निर्वाचन आयोगको कडा कदम : समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार बाहिरिए

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था तथा राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जनाको नाम बन्दसूचीबाट हटाइएको छ। त्यसैगरी प्रदेश सभाको बन्दसूचीमा नाम कायम भइसकेका २५ जना, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर नपुगेका ४ जना पनि सूचीबाट हटाइएका छन्।

मतदाता नामावलीमा नाम नभएका १ जना, पिछडिएको क्षेत्रको कोटाबाट पेश भए पनि सो क्षेत्रसँग सम्बन्ध नराख्ने २ जना, महिलाको कोटामा पुरुष उम्मेदवारका रूपमा पेश गरिएको १ जना, राजनीतिक दलले नै नाम हटाउन अनुरोध गरेका १० जना र अन्य विविध कारणबाट २ जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।

यससम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस